हार्दिक अपिल

नमस्कार,

हाम्रो परम्परा, संस्कार र सांस्कृतिक मान्यता अनुसार ज्येष्ठ नागरिक, हाम्रा मातापितालाई सजीव देवताको दर्जामा राखिएको छ।

‘मातृदेवो भवः पितृ देवो भवः’ अर्थात धार्मिक तथा आध्यात्मिक आधारमा पनि यस्ता सजीव देवताको सेवा गरेमा पुण्य मिल्छ भनिएको छ तर हाम्रै वरपरका समाज तथा परिवारमा ज्येष्ठ नागरिक अपहेलित र तिरष्कृत भएको पनि देखिन्छ। स्वस्थ शरीर रहुन्जेल सबै हाई हाई हुने तर अस्वस्थ र जिर्ण शरीर भए पछि बेवास्ता गरिने समस्याले समाजमा बिकराल रुप लिँदै आएको छ।

‘हुँदा छँदा सबैको माया गाढा, कमजोर र वृद्ध भएपछि आफ्नै सन्तान पनि टाढा’ हुने अवस्थाले हाम्रो समूदायमा चिन्ता थपिएको छ। अहिलेको नयाँ पुस्तामा आफु (श्रीमान/श्रीमती) र सन्तानमात्र परिवारको परिभाषामा सिमित हुन थालेको छ। घरमै भएका अग्रजहरु विस्तारै परिवारको सूचीमा अटाउन छोडेको र अपहेलित हुँदै गएको अवस्था छ।

यो भयावह, गहन तथा संवेदनशील विषयलाई विश्लेषण गर्दै यस गणेशमान सिंह स्वास्थ्य प्रतिष्ठानले गणेशमान सिंह मेमोरियल अस्पताल एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा ज्येष्ठ नागरिकहरूको सम्मान र संरक्षण हेतु निःशुल्क स्वास्थ उपचारका लागि अभियान प्रारम्भ गरेको छ। आफ्नै प्रयासबाट आफ्नै लागि समयमै केही रकम जोहो गरी भविष्यमा आफु अशक्त वा अस्वस्थ हुँदा राम्रो स्याहार र हेरचाह पुगोस् र आफू जस्तै अन्य अशक्त तथा ज्येष्ठ नागरिकको सेवा गर्ने अवसर मिलोस् भन्ने भावनाले यस अभियानलाई हामीले अघि सारेका हौं। आफ्ना लागि आफैँले गर्नु त छँदै छ, शास्त्रीय मान्यता अनुसार अरुलाई पनि सेवा गर्न सक्नु भनेको धेरै ठूलो पुण्य कमाउनु हो।

हाम्रो प्राचिन सनातन वैदिक परम्परामा बुबा आमालाई वृद्धाश्रममा हैन घरैमा राखेर छोरा, बुहारीहरु तथा छोरीहरुले सम्मानका साथ पालन पोषण गर्ने परम्परा थियो/छ। यदाकदा छ पनि। यद्यपि, आज विकास र आधुनिकताको नाममा र छोरा छोरीको व्यस्तता र आवश्यकताले बालबच्चा शिशु स्याहार केन्द्रमा र आमाबुबालाई बृद्धाश्रममा पुर्याउने चलन बढिरहेको कुरा नकार्न सकिँदैन। यदि निरोगी आमाबुबा घरमा हुने हो भने विद्यालय जाने उमेर नपुगेका स–साना नानीबाबुहरुको स्याहार उहाँहरुले नै गर्नुहुन्छ; छोरा बुहारी दुवै काममा जान सक्छन्।

स्मरण रहोस्, काठमाण्डौ स्थित एउटा ज्येष्ठ नागरिक सेवासँग सम्बन्धित संस्थाले गरेको सर्वेक्षणमार्फत् प्राप्त जानकारी अनुसार निरोगी बुबाआमा पाल्न सबै छोरा बुहारी तयार देखिए, तर रोगी बुबा आमाको हेरचाह गर्न गाह्रो भएकाले मात्र बृद्धाश्रम पठाउने गरिएको रहेछ।

वृद्ध बुवाआमा अर्थात ज्येष्ठ नागरिकहरुको स्वास्थ्य सुरक्षा तथा हेरचाह सम्बन्धि योजना छ त ?

यो गम्भिर विषयमा एउटा सफल अभ्यास गरी नेपाल सरकार, दातृ निकाय र स्वास्थ्य सम्बन्धि संघसंस्थाले पनि यस कार्यको अवलम्बन गरुन् भन्ने पवित्र मनसायले राजनीतिक आदर्शका प्रणेता, नेपाली प्रजातन्त्रका नायक सर्वमान्य नेता श्री गणेशमान सिंहको नामबाट ज्येष्ठ नागरिक स्वास्थ्य उपचार सेवा प्रदान गर्न गणेशमान सिंह स्वास्थ्य प्रतिष्ठानको स्थापना गरेका छौं।

यो कुनै जातजाती, धर्म, वर्ण र सम्प्रदायको नभएर तपाईं हामी सबैका लागि स्थापना भएको हो। यो कार्य सफल भए सनातन वैदिक परम्पराको संरक्षण हुँदै, भगवान बुद्धले दिनुभएको उपदेशको पनि पालना हुने र ज्येष्ठ नागरिकहरु मृत्यु पर्यन्त निरोगी र सुखी रहने अवस्था निर्माण गर्ने स्वास्थ्य प्रतिष्ठानको संकल्प छ।

ज्योतिष विज्ञानका अनुसार शनिग्रह शान्त गर्न ज्येष्ठ नागरिकको सेवा गर्नु एउटा मूख्य उपाय मानिन्छ। त्यसैले हामी सबै मिलेर सहकार्य गरौं। विशेषतः ज्येष्ठ नागरिकहरुको सुस्वास्थ र दीर्घ जीवनको सुनिस्चितता गर्न एउटा सबैका लागि भरपर्दो पद्धति स्थापित गरौं, जो अरु सबैलाई अनुकरणीय होस्।

ज्येष्ठ नागरिकहरुको स्वास्थ्य सुरक्षा तथा हेरचाह सम्बन्धि कार्यक्रममा कसरी आबद्ध हुन सकिन्छ ?

१) संघ संस्थाले आफ्नो ज्येष्ठ नागरिक सदस्यलाई र परिवारले घरको ज्येष्ठ नागरिक (हाललाई ७० वर्ष माथिका) लाई तोकिएको दान, दातव्य वा सदस्यता शुल्क बुझाएर स्थापित उपचार कोषमा नाम दर्ता गराउने।

२) दर्ता भएका ज्येष्ठ नागरिक सदस्यलाई संस्थाले गणेशमान सिंह हस्पिटलमा होलबडी चेकअप गराई अस्पतालको संस्थासँग भएको सम्झौताअनुसार चेकअप गराई स्वास्थ्य सम्बन्धि विवरण अभिलेखिकरण गर्दै जाने र फलोअप गरि रहने विशेष व्यवस्था मिलाउने।

३) त्यस्तो अभिलेख दर्ता भएका ज्येष्ठ नागरिकलाई आवश्यकता हेरी आयुर्वेद र प्राकृतिक उपचार विधि अनुसार स्वस्थ्य खानपिन आहारविहारको जानकारी गराउने। रोग अनुसारको योग सिकाउने। सबैलाई भावातित ध्यान प्रशिक्षण दिने र प्रविधिमार्फत् समय समयमा घर घरमा अभ्यासहरु गराउने।

४) समय समयमा आवश्यकता अनुसार आयुर्वेद र प्राकृतिक उपचार र योग ध्यानका विज्ञहरुको परामर्श सेवा उपलब्ध गराउने।

५) उक्त गणेशमान सिंह मेमोरियल अस्पतालबाट २४ सै घण्टा आकस्मिक सेवा उपलब्ध गराउने।

६) विज्ञहरुको तर्फबाट समय समयमा भोजन व्यवस्थापन सहित आहार विहार र व्यवहार सम्बन्धि जनचेतना अभिमुखिकरण कार्यक्रम प्रविधि मार्फत रजिष्टर भएका सबै घर परिवारमा पुर्‍याइने छ।

७) प्रारम्भमा यो सेवा सिमित संख्याबाट प्रारम्भ गरिनेछ र क्रमशः बढाउँदै लगिने छ।

८) उक्त सेवा सबै ज्येष्ठ नागरिकलाई हो, तर सक्नेले यो सेवा तोकिएको सहुलियत शुल्क बुझाएर लिनु पर्ने छ, नसक्नेलाई निशुःल्क गराइने छ र त्यस्ता अशक्त ज्येष्ठ नागरिक र बालबच्चालाई उपचार कोषबाट बिल भुत्तानीको व्यवस्था गरिने छ।

९) सेवा लिन इच्छुक ६० देखि ७० वर्षसम्मका नागरिकहरुका लागि पनि ३०% सम्म छुटको सुविधा दिइने छ र ७० वर्ष पुगेपछि सबै तोकिएका सुविधा प्राप्त हुनेछन्।

श्रोतको खोजी र व्यवस्थापन

१) प्रतिष्ठानले सरकार तथा संघसंस्था र व्यक्तिसँग यथाशक्य आर्थिक योगदानको अपिल गर्ने छ।

२) गणेशमान सिंह स्वास्थ्य प्रतिष्ठानको सदस्य र आजिवन सदस्यको लागि आग्रह गर्नेछ। सदस्य हुन रु. १०,००० (दश हजार रुपैयाँ) र आजीवन सदस्य हुन रु. १,००,००० (एक लाख रुपैयाँ) शुल्क लिने व्यवस्था छ।

३) सबै तहका सरकारसँँग अनुदान माग गरिनेछ। स्मरण रहोस्, बागमती प्रदेश सरकारले हाम्रो यस कार्य योजनालाई स्वीकार गर्दै चालु आर्थिक वर्षका लागि रु. २०,००,००० (बीस लाख) अनुदान प्रदान गरेको छ।

४) अन्य इच्छुक दाताहरुको पनि पहिचान गरिने छ। यसरी दाताहरुबाट संकलित रकम अक्षयकोषमा राखिने छ र प्रतिष्ठानको कार्यविधि अनुसार ज्येष्ठ नागरिकको उपचारमा खर्च गरिने छ।

५) हरेक आर्थिक वर्षको लेखा परिक्षण तयार गरि ऐनले तोकेको समयभित्र साधारण सभा गरि विवरण सार्वजनिक गरिनेछ। सबै आय व्यय र ज्येष्ठ नागरिक स्वास्थ्य सेवाको विवरण वेबसाइटमा राखिनेछ।

यस प्रतिष्ठानले अघि सारेका गरिब, असहाय तथा विषेश गरेर ज्येष्ठ नागरिकहरूको निःशुल्क उपचार कोषका लागि सहयोग र सहकार्य गर्न हामीले सबै किसिमका संस्था तथा निकायलाई आह्वान गर्दै आएका छौं। कम्पनी, संघ, संगठन तथा विभिन्न निकायले गर्दै आएको सामाजिक उत्तरदायित्व कोषलाई छुट्याएर सहयोग गरिदिन अनुरोध पनि गरेका छौँ। सहयोग आउने क्रम पनि जुटिरहेको छ। यस अभियानमा हातेमालो गर्न सबैलाई विषेश अनुरोध छ।

प्रकृतिको नियम कानुन यस्तो छ कि, रोपेपछि फल्छ र हामीले जे रोप्छौं त्यहि फल्छ। एक दाना बिउबाट हजार दाना भन्दा बढि फल र अन्नबाली फल्छ र सबै मानवजातीको प्राण रक्षाका लागि हुन्छ। बिना भेदभाव पृथ्वी माताले मानवलाई पालन पोषण गरीरहेकी छन्। त्यसैले त पुरुषोत्तम भगवान रामले भन्नु भएको छ ‘जननी जन्म भूमिश्चः स्वर्गदपि गरियसी’। जन्मदिने आमाले जन्मेकै दिन देखि पालन पोषण गर्छिन र सबै आमा र सबै उमेर पुग्दै गएका छोरा छोरीलाई पृथ्वीमाताले पालन पोषण गर्छिन। तसर्थ, पृथ्वी मातालाई दैनिक नमन गर्दै जन्मदिने मातापिता (ज्येष्ठ नागरिक) लाई बाँचुञ्जेल निरोगी राख्ने र सम्मानका साथ घरैमा पालनपोषण गर्ने अभियानमा सहभागी बनौं।

अन्ततोगत्वा, एकदिन सबैले सबैकुरा, छोराछोरी, सम्पति, जेसुकै र जतिसुकै सुखका साधन हुन छोडेर आर्यघाट जानु नै छ। आफ्नो शरीर पनि आफ्नो वशमा हुन्न, छाड्नै पर्छ, लान केही पाइँदैन। तर, आफुले गरेको सेवा अनुसार आफ्नो नाम यसलोकमा सधैँ रहिरहन्छ र आफ्ना छोरा छोरी, नातीनातिना पुस्तौँपुस्ता र परलोकमा पनि यसले फल दिइरहन्छ।

त्यसकारण यो पुण्य सेवाको अभियानमा आफु र आफ्नो परिवारलाई सहभागी गराई मासिक, वार्षिक वा एकमुष्ठ रकम निम्न खातामा जम्मा हुनेगरि आर्थिक योगदान गर्न र आफ्नो परिवारका ज्येष्ठ नागरिकको नाम दर्ता गराई दिन समेत हार्दिक अपिल गर्दर्छौ।

सम्पर्क व्यक्तिहरुः

१) दीपक प्रकाश बाँस्कोटा (अध्यक्ष)
सम्पर्कः ९८५१०१३०२२

२) पवित्रा देवी पौडेल
सम्पर्कः ९८४९२६७१९४

बैंक खाताहरूः

Prabhu Bank Limited

Satdobato, Lalitpur

Ganeshman Singh Swasthya Pratisthan

0420080171000022

Sanima Bank Limited

Satdobato, Lalitpur

Ganeshman Singh Swasthya Pratisthan

14010010000107

Progressive Finance Limited

Mahalaxmisthan, Lalitpur

Ganeshman Singh Swasthya Pratisthan

30110100005789

भवदिय,

दीपक प्रकाश बाँस्कोटा
अध्यक्ष
गणेशमान सिंह स्वास्थ्य प्रतिष्ठान
गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर
ललितपुर महानगरपालिका १५, महालक्ष्मीस्थान